हाम्रो मित्रता

शेयर गर्नुहोस्

ती अबेर रातका मीठा वार्तालाप। एउटा मीठो पल जसलाई चाहेर पनि भुल्न सकिँदैन अनि सम्झिन पनि । त्यो पल भुलुँ गाह्रो छ आफैलाई सम्हाल्न, सम्झिऊँ तिमी छैनौ साथमा । छन त न पहिले थियौ न अहिले छौ साथमा तर आभास त थियो नि सँगै भएको । अहिले त न आभास हुन्छ न सम्झेको कुनै महसुस नै ।

कस्तो अजीवको सम्बन्ध हाम्रो । हामीलाई नै थाहा छैन हामी को थियौँ एकअर्काका लागि । को हौ एकअर्काका लागि । तर पनि कस्तो मजबुत सम्बन्ध जसलाई कसले छुटायो, हामी दुवैलाई थाहा छैन । तिमीले मेरा सामु न आफ्ना भावना पोख्यौ न मैले नै त्यसो गर्ने आँट गरेँ । खोजेकी थियौ होला कुनै पल मलाई आफ्ना भावना बुझाउन, मैले बुझेन दोष मलाई देउ ल अनि मैले बुझाउन खोज्दा नबुझेको दोष कसलाई दिऊँ म? उत्तर खोज्दै छु अझै पनि म ।

भो अब सम्बन्ध न दोष दिएर अघि बढ्छ न दोषको जिम्मा लिएर । यो त एकअर्काको विश्वासमा चल्छ। यस्तो विश्वासको अभाव भयो त्यसबेला हामीमा । समयले कस्तो मोडको प्रतीक्षा गरिरहेको थियो हामीले कहिल्यै बुझ्न सकेनौँ । साँच्चै भन्नुपर्दा बुझ्नै खोजेनौं ।

टाढा छौ तिमी, न म बोलाउन सक्छु न तिमीले बोलाएको सुन्न नै । तिमीले त बिर्स्यौ होला है ती दिनहरू । मैले पनि बिर्सेको थिएँ । यसलाई बिर्सिन खोजेको भन्दा पनि नसम्झेको भनौँ न हैन। यादहरूमा रुमलिएर बस्ने फुर्सद कहाँ छ र हो? यहाँ नबिर्से बिर्से जस्तो गर्नुपर्छ। सम्झे पनि बिर्सेको अभिनय गर्नुपर्छ । आखिर जिन्दगी नै रङ्गमञ्च बनाउनुपर्ने वाध्यता जो छ ।

कहाँ सकिने रहेछ र मनका भावना दबाएर अरूलाई खुसी राख्न। यसो गर्दा न मन खुसी हुन्छ न अरू कोही । हुन त मैंले अरू कसलाई पो खुसी बनाउनु छ होला र ? मैले त केवल एक जनालाई खुसी बनाउनु छ । एक जनासँगै रमाउनु छ । एकै जनासँग यो जीवन बिताउनु छ ।

वास्तवमा मैंले त मसँग जोडिएकी तिमीलाई खुसी बनाउनु छ । मलाई प्रेरणा दिने तिमीलाई उपहार स्वरूप प्रेरणा नै दिनुपर्नेछ । मलाई यी यादका भारीहरू थुपारि दिने तिमीलाई पनि उस्तै यादहरू थुपारी दिनुपर्ने छ ।
तर, म यति कङ्गाल भइसकेको छु कि ऐले त तिमीलाई केही दिन सक्दिनँ । न मायाले भरिएको छु म, न त अन्य केही कुराले । म त एक्लो छु । केही छैन मसँग । मसँग केवल अहिले म मात्र छु ।

तिमी मुरा गर्छौं मसँग त अहिले भावना पनि बाँकी छैनन् किनकि तिमीसँग बोल्ने बहानामा सबै रित्याइसकेँ। अब के रित्याए तिमी नजिक हुन्छौ ? भो यो मस्तिष्कले पनि के के सोच्छ सोच्छ । यसको भर नपर ल । तिमीले बुझ्छौ नि मैलेभन्दा पनि धेरै यसलाई ।

खै कस्तो सम्बन्ध थियो तिमीसँग। न टुटेको याद छ न जोडिएको खास छ। जोडिँदा मुस्कुराउन बिर्सेको मन छुट्टिँदा टोलाइ रहन नबिर्सिनिने रहेछ। तिमीलाई सम्झिँदैन नि म । मैले त कुनै पल नै नसम्झे हुने भन्ने सोच्छु तर यो मनलाई कसले बुझाओस् । मनले पनि खासै तिमीलाई सम्झिँदैन रे। उसले सबैभन्दा बढी सम्झिने तिमीसँगै बाँडेका मीठा भावनाहरू रे, मीठा सपनाहरू रे, मीठा क्षणहरू रे । भो बुझ्दैन म आफ्नै मनका कुराहरू । म आफैलाई बुझ्न सक्दैन । मलाई अरूले बुझेनन् भन्ने गुनासो नै छैन किनकि आफैले बुझ्न नसक्दा अरूले बुझोस् भन्ने अपेक्षा बर्थै हो नि ।

साँच्चै मेरो यो मन तिमीसँगै छ है । त्यसैले त तिम्रै निर्देशनमा चलिरहेको हुन्छ । कुनै दिन मलाई देख्दा दया लागेछ भने मेरो मन फिर्ता गर ल ।

Back To Top