पासवर्ड

शेयर गर्नुहोस्

“साथी तिमी योभन्दा पहिले कहाँ पढ्थ्यौं ?” कक्षामा हाम्रो तीन महिनाको चिनजानपछि साथी राकेशले यो प्रश्न सोधेको थियो ।

“म पहिले त बिबिएएस मै पढ्थेँ पढ्न त । तर पछि आठमा पढ्न मढेला गएको थिएँ,” मैंले पनि राकेशलाई सहजै उत्तर दिएँ ।

उत्तर दिनसाथ उसले पुनः सोध्यो, “अनि त्या तिमीलाई सबैभन्दा बढी मन परेको केटी को थिई ?”

सुरुमा म केही लजाएको थिएँ । लजाउँदा केटाहरूले मजाक उडाउने डरले झट्ट भनिहालें, ‘सक्ष्यता ।”

‘च्वाक छे ?’ उसले सोध्यो । मलाई के भन्नु भन्नु भयो । खासमा उसले भनेको च्वाकको अर्थ के हो मलाई त्यस बेला थाहै थिएन । ऊ उत्तर पाउने आशले मेरो अनुहारमा हेरिरहेको थियो । मलाई भने त्यो अवस्थाको सामना गर्न निकै सकस परेको थियो । धन्न, कक्षामा अग्रसर प्रवेश गर्नुभयो र बचे म ।

अग्र सरले आफ्नो क्लास पढाइसकेपछि हाम्रो ब्रेक भयो । राकेश अरूदिनभन्दा त्यस दिन मेरो धेरै नै पछि लागेको थियो । मसँग उसले सक्षताको आइडी मागिरहेको थियो । मलाई सक्ष्यताको नाम भनेकोमा आत्मग्लानी भइरह्यो । केही जोड नलाग्ने भएपछि मैले उसको वास्तविक नाम नै फेसबुकमा रहेको भन्दै ‘सक्ष्यता शर्मा’ सर्च गर्न सुझाव दिएँ ।

खासमा सक्ष्यता मसँगै पढ्ने युवती थिई । जिल्ला स्तरीय परीक्षा भएकाले म मेरो गाबिसमा भएका सबैजसो स्कुलमा ट्युसन पढ्न जान्थेँ । साँच्चै पढ्न होइन । ट्युसन पढाउने शिक्षक जाँच गर्न । आठ कक्षामा पहिलो पटक सरकारी स्कुलमा पढ्न जाँदा मलाई सबै जसो सरहरूले ख्याल गर्नु भएको रहेछ । पढाइ भइरहँदा बढी बोल्ने भएकाले म अरूभन्दा अगाडि नै थिएँ । त्यसैले विज्ञान, गणित जस्ता विषयका हिसाब र थ्यौरी जहाँबाट जसरी सोधे पनि उत्तर दिन सक्ने भएको थिएँ । आफ्नो यही विशेषतालाई लिएर म विभिन्न स्कुलमा ट्युसन कसरी पढाउने रहेछन् भन्ने कुरा जाँच गर्न जान्थें ।

यसरी जाँच गर्न जाँदा हाम्रै वडाको आधारभूत तहको सरकारी स्कुलमा पढ्ने सक्ष्यतालाई पहिलो पटक देखेको थिएँ । उसलाई नभनेको भए पनि मन ऊतर्फ बढी नै आकर्षित थियो । जिल्ला स्तरीय परीक्षामा नतिजा सोचे अनुकूलकै आयो । म हाम्रो विद्यालयबाट सबैभन्दा उत्कृष्ट अंक ल्याएर प्रथम भएको थिएँ ।

त्यही नतिजाले गर्दा मेरा बा आमालाई धेरैले मेरो स्कुल परिवर्तन गर्न सुझाव दिए । यसरी मैंले आफू पहिले सात कक्षासम्म पढेकै स्कुलबाट नौ कक्षामा अध्ययन गरिरहेको थिएँ । यता (नीजि स्कुलमा) नौ कक्षामा पढेको भए पनि म बेलावखत सरकारी स्कुलमा भेटघाट गर्न गइरहेको हुन्थेँ । कस्तो संयोग सक्ष्यता पनि त्यही स्कुलमा कक्षा नौमा पढ्ने रहिछ । यही कुराले आफूलाई नीजि स्कुलमा पढ्न गएकोमा पछुतो लागिरहन्थ्यो ।

हामी कक्षा नौमा पढ्ने बेला हाम्रो क्षेत्रतिर फेसबुक नयाँ थियो । जसको घरमा फोन वा कम्प्युटर थियो उसैले फेसबुक बढी प्रयोग गर्थे । मैले भने मामाको नोकियाको बार फोनमा फेसबुक अकाउन्ट बनाएको थिएँ । कहिलेकाहीँ मामाको फोन चार्ज गर्ने बाहानामा फेसबुक प्रयोग गर्थें ।

कक्षा नौमा पढ्न स्कुल गएको दुई साता पुगेको थियो । त्यही बेला मलाई सक्ष्यताको फ्रेन्ड रिक्वेस्ट आएको थाहा पाएँ । फेसबुक खोल्दा फिडमै सक्ष्यताको नामबाट फ्रेन्ड रिक्वेस्ट आएको देखेँ र छिटोछिटो रिक्वेस्ट एसेप्ट गरेँ । फोन आफ्नो नभएकाले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेर फेसबुक बन्द गरेँ । त्यसपछि आफ्नो होमवर्क गर्न थालेँ । भोलिपल्ट पुनः फेसबुकमा नयाँ के आयो भन्ने जान्न मामासँग मोबाइल मागेर फेसबुक लगइन गरेँ । त्यसमा मलाई सक्ष्यताले हेलो भनेर मेसेज पठाएकी थिइ ।

उसलाई अनलाइन देखाएकाले केही बेर कुरा भयो । सुरुमा हाम्रो चिनजान मात्र भएको थियो । हामी दुवैले एकअर्कालाई चिनेको भए पनि मनेसामने भएर कुरा गर्ने सौभाग्य मिलेको थिएन । उसँग कुरा गर्ने चाहना जति भए पनि ममा उसलाई भेटेर कुरा गरिहाल्ने आँट भने थिएन । उसैले कुरा सुरु गरेपछि भने म खुलेर बोल्न थालेँ ।

पहिलो दिन परिचय सन्चो बिसन्चोका कुरा गरिसकेपछि उसले भनी, “तिमी साँझ अन हुन्छौ?”

“किन ?” मैले प्रश्न गरेँ ।

उनले हर्ट इमोजी पठाउँदै लेखी, “छ केही भन्नुपर्ने!”

ल भो त। कुनै दिन आफूले एकोहोरो चाहेको केटीले यसरी मेसेज गरेपछि म नपग्लिने कुरै थिएन । त्यो दिन मामालाई फकाएर मोबाइल फुत्काउने विभिन्न प्रयास गरेँ । तर, मामाले अरू बेला मोबाइल दिए पनि साँझ नदिने कुरा सुनाउनु भयो । मामाले गर्न लगाएका सबै काम सकेर अन्तिममा मोबाइल फुत्काएरै छोडेँ । साँझ आठ बजेको हुँदो हो सक्ष्यतालाई फेसबुकमा मेमेज पठाएँ, “मैंले फोन पाएँ है । के भन्ने भन्दै थियौ भन त, म कस्तो उत्साहित छु ।”

न्युज फिड नहेरेर म हरेक पटक मेसेजमा आँखा डुलाइरहेको थिएँ । तर, साढे आठ भइसक्दा पनि मेसेज आएको थिएन । समयको त खासै कुरा थिएन तर मलाई फोनमा भएको व्यालेन्स सकिने डर थियो । त्यसबेला डेटा प्याक तान्ने वा वाई-फाईबाट इन्टरनेटमा जोडिने सुविधा थिएन । करिब पौने नौ बजेको बेला सक्ष्यताको मेसेज आयो, “सरी है! माम खाँदै थिएँ ढिलो भयो । अनि कस्तो आत्तेको तिमी ।”

“होइन के, मलाई यसरी केही कुरा भन्ने भनेर ऐलेसम्म कसैले पर्खाएको थिएन नि त । यो पहिलो पटक भएकाले आत्तिएँ । बरू भन न के कुरा थियो ?” मैले रिप्लाई दिएँ ।

उसले यसरी अल्झएकी थिई, मेरो मन उसले सत प्रतिशत प्रेम प्रस्ताव राख्छ भन्ने कुरामा विश्वस्त थियो । यदि उसले प्रेम प्रस्ताव नराखे आफैले राख्ने अठोट गरेको थियो । त्यसले अरूभन्दा पनि मन बढी नै आत्तिएको थियो । मैंले पठाएको मेसेज उसले सिन गरेको देखियो तर १० मिनेट बितिसक्दा पनि रिप्लाई आएको थिएन । म सबै कुराहरू सकेर सुत्ने तरखरमा थिएँ । उसको अकाउन्टबाट पठाएको लामो मेसेज देखियो ।

“सुन न ! मैले यता (मढेला) क्लास जोइन गर्ने बित्तिकै एउटा बेस्ट फ्रेन्ड बनाएको थिएँ । तिमले उसलाई चिन्छौं होला । उसको नाम तुल्छी हो । उसले तिमीलाई देखेकै दिनबाट धेरै लाइक गर्ने रैहेछ । तिमीसँग उसले नजिक हुन जत्ति जोड गरे पनि तिमी नजिक हुन मानेनौं रे । तिमीलाई थाहा छ, उसले कत्ति पटक तिमीले गरेको होमवर्कको कपी लगेको हुन्थ्यो नि । तिमी यो स्कुलमा आउनुअघि त्यो क्लासको टपर ऊ नै थिई । तिमीबाट जेलस भएको भन्दा पनि तिमीले सामाजिक, पेसा र नेपाली विषयका लागि लेखेको होमवर्क उसलाई धेरै मन पर्ने रहेछ ।

त्यसैले आफूले होमवर्क गरेकै भए पनि ऊ जहिले तिम्रो कपी मागेर पढ्थी । अनि कैयौं पटक तिमी उसकै घरतिरको बाटो घर गएका थियौं रे । उसलाई लाग्यो तिमी त उसलाई उत्तिकै प्रेम गर्छौं । तर, उसले कहिल्यै भन्न सकिनँ । म यो स्कुलमा आएपछि तिम्रै गाउँतिरको भन्ने थाहा पाएर मसँग क्लोज भई अहिले हामी बेस्ट फ्रेन्ड छौं । तिमीसँगै कक्षा नौमा पढ्दा आफ्ना मनका कुराहरू भन्ने सपना देखेकी थिई । तिमीले स्कुल नै चेन्ज गरेछौं ।

त्यसैले यो सबै कन्फेस गर्न मैले तिमीलाई रिक्वेस्ट पठाएकी । तिमीलाई कस्तो लाग्छ विचार गरेर रिप्लाई गर ल । अनि साँच्चै अहिले नै मायामा पर्न हुँदैन नि । नजिकको साथी बन, पछि राम्रै भइछ भने प्रेम भन्ने कुरा त भइहाल्छ नि । तिम्रो रिप्लाई के आउँछ म उसलाई सुनाउँछु है त ।”

उसले मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु, हरेक पोस्टमा लाइक र कमेन्ट गर्नुको पछाडिको कारणबारे म प्रस्ट भएको थिएँ । मेरै पोफाइल हेर्न तुल्छी सक्ष्यतासँगै बस्न थालेकी रहिछ । मलाई भने सरकारी स्कुलमा पढ्न गएकै दिनबाट तुल्छी अजीवको केटी भएको भान भइरेको थियो । मलाई आफ्नो कापी दिनै मन लागेको हुँदैनथ्यो । उसले कसरी कसरी मागेर लगेकै हुन्थी । यही देखेर केही केटाहरूले जिस्काउन पनि थालेका थिए । यसरी केही केटाहरूले मेरो नाममा उसको नाम जोडेपछि त झन् उसलाई देख्यो कि नजिक पर्नै मन नलाग्ने भइसकेको थियो ।

अँ साच्चै अनि उसको घर त्यताको बाटोमा पर्छ भन्ने कुरा मलाई थाहै थिएन । त्यो बेलाको मेरो साथी जीवन थापाले जङ्गलको बाटो राम्रो हुन्छ भन्दै घुमाउरो बाटोबाट लगेको हुन्थ्यो । यहाँ सजिलो भन्दा पनि तल्छी र जीवन मिलेका रहेछन् । तुल्छीकै अनुरोधमा जीवनले मलाई उसको घरतिरको बाटोबाट घर र स्कुल ल्याउने रहेछ । यसरी मलाई क्लासबाटै मन नपरेकी युवतीले मन परेकी युवतीको सहयोग गरेर मलाई आफ्ना कुराहरू भनेको प्रस्ट भयो । मलाई तुल्छीको नामबाटै घृणा लाग्न थाल्यो । मैले सक्ष्यतालाई लामो मेसेजको रिप्लाई दिँदै भने, “हेर म अझै सानै छु । मलाई त्यतातिर केही चासो छैन । तिमीलाई यो सब तुल्छीले गर्न लगाएकी रहिछ । अब भेटे पनि मसँग नबोल्न भनिदेउ ।”

तुल्छीले मलाई हरेक पटक पछ्याइरहँदा यही कुरा भन्ने चाहना थियो । तर, भन्न सकिरहेको थिएन । सक्ष्यतासँग मेसेज हुँदा क्या सजिलै भनिदिएँ । त्यसपछि सक्ष्यता र मबीच तुल्छीको बारेमा कम र अरू विषयमा बढी गफगाफ हुन्थ्यो । यसरी दिन बितिरहेको थियो । सक्षयता र म नजिक भएका थियौं । तर, भेट्ने मौका मिलेको थिएन ।

राकेशले मबाट सक्ष्यताको फेसबुक आइडी फुत्काएपछि घर गइर रिक्वेस्ट पठाएको रहेछ । सक्ष्यताले पनि म्युचल फ्रेन्डलाई म लगायत अन्य केही व्यक्तिहरू देखेपछि फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरी । उनीहरूबीच रातभरि यति धेरै कुरा भयो, बिहान हुँदै दुबै एक अर्कको प्रेमी प्रेमी भइसकेका थिए । राकेशले सक्ष्यता र सक्ष्यताले राकेशको आइडीबाट एक अर्कासँग कुराकानी गर्न थालेका थिए ।

भोलिपल्ट क्लासमा आउनासाथ राकेश अरू दिनभन्दा निकै नै खुसी देखिन्थ्यो । एसेम्ब्ली सकिएपछि हामी क्लासमा गयौं । क्लासमा जानासाथ राकेश मलाई जिस्काउन थाल्यो । मैले सक्ष्यतासँग गरेका एक एक कुराहरूको पोल खोल्न थाल्यो । उसलाई यी तमाम कुरा थाहा पाएको देखेर म अचम्ममा परेको थिएँ । सक्ष्यताले मेरो बारेमा त्यती धेरै कुराहरू नभन्नुपर्ने जस्तो लागेको थियो । तर, अन्तिममा राकेशले आफैले सबै राज खोल्यो । उसले मसँगै मेरा अरू दुई साथी संयोग र चेतनलाई आफूले सक्ष्यताको पासवर्डमा आफ्नो नाम राखेको कुरा सुनायो ।

मलाई त्यतिबेलासम्म पनि खासै केही लागेको थिएन । मैले उसको कुरालाई बेवास्ता गरेर टारिरहेको थिएँ । तर, राकेशले हरेक पटक मलाई उसले सक्ष्यताको पासवर्डमा आफ्नो नाम र पछाडि १२३ राखेको कुरा सुनाएर जिस्काइ रहेको थियो । धेरै जिस्काए पछि मलाई उसको बानी मन परिरहेको थिएन । सायद संयोगले मेरो मनको भावना बुझेछ क्यारे एकान्तमा लगेर अकाउन्ट ह्याक गर्ने सुझाव दियो ।

खासमा यहाँ कुरा के भएको थियो भने राकेशलाई फेसबुक लगपन हुन ईमेल वा फोन नम्बर र पासवर्ड दुबै चाहिन्छ । र, ती दुईओटामध्ये एउटा थाहा भयो भने अकाउन्ट लगइन गर्न सकिँदैन भन्ने भ्रम थियो । मैंले भने कैयौं पटक मामाले ब्राउजरमा आफ्नो सर्च गर्ने र आफ्नो फेसबुक अकाउन्टमा जाने अनि माथि यूआरएल बक्समा फेसबुक डटकम स्ल्यासपछि हुने नाम राखेर त्यसपछि पासवर्ड राख्दा अकाउन्ट लगइन गरेको देखेको थिएँ । संयोगले भनेझै सक्ष्यताको आइडी लगइन गरेर पासवर्ड परिवर्तन गर्ने योजना बनाएँ र क्लास सकिएपछि साँझ घर फर्किएँ ।

घर पुग्नासाथ मामाको मोबाइल लगे र त्यसमा फेसबुक ब्राउज गरेँ । मामाको अकाउन्ट लगइन रहेछ । फेसबुकको सर्चबारमा गएर सक्ष्यता शर्मा सर्च गरेँ । त्यसपछि युआरएलमा देखिएको उसको नाम कापीमा नोट गरेँ । मामको अकाउन्ट लगआउट गरेर ईमेलको ठाउँमा यूआरएलबारमा देखाएको युजरनेम र पासवर्डमा राकेशले भनेको पासवर्ड राखेँ । यति गर्ने बित्तिकै अकाउन्ट लगइन भयो । त्यसपछि सक्ष्यता र राकेशबीच भएको सबै मेसेज हेरँ ।

मेसेज गर्दा उसले अधिकांश ठाउँमा मेरै नाम लिइरहेको थियो । सक्ष्यताले केही ठाउँमा मलाई मन पराउन थालेको पनि भनेकी रहिछ । तर, उसले क्लासमा मेरो अर्को गर्लफ्रेन्ड छ भन्दै सक्ष्यतालाई भड्काएको मेसेजबाट पुस्टि भयो । मैले सक्ष्यताको फेसबुकको पासवर्ड परिवर्तन गरेँ । अनि मामाको फोनबाट लगआउट गरेँ । म फेसबुकमा बढी नै पोख्त थिएँ । मामाले बेलाबखत फर्गेट पासवर्ड गरेर अकाउन्टको पासवर्ड रिकभर गरेको देखेको थिएँ । त्यसैले सक्ष्यताको अकाउन्टमा एसएमएस जाने फोन नम्बर पनि परिवर्तन गरेर बाबाको फोन नब्बर राखिदिएँ । त्यो बेला यसरी अर्को नम्बर राख्दा फेसबुकले ओटीपी कोड पठाउँदैन्थो । त्यसैले बाबाको नम्बर राख्न सम्भव भयो ।

भोलिपल्ट स्कुलमा गएर सबैभन्दा पहिले संयोगलाई भेटेँ । उसलाई आफूले पासवर्ड परिवर्तन गरेको कुरा भनेँ । उसले मलाई नयाँ पासवर्ड के राखिस् भनेर सोध्यो मैले जवाफ दिएँ, “होटेल अनि त्यसैमा जोडिएको उनीहरूको ल्यान्डलाइन नम्बर । त्यो दिन क्लासमा राकेशको मुड त्यती राम्रो चलेको थिएन । उनीहरूबीच अघिल्लो रात कुरा नभएकाले राकेश झोक्राएको रहेछ । होमवर्क पनि धेरै भएकाले उसले सक्ष्यताको अकाउन्ट लगइन गर्न पाएको रहेनछ । त्यस दिन पनि त्यस्तै बित्यो । म घर आएँ । मामाको फोनमा दुई दिनदेखि फेसबुक लगपन गरेको थिएन । सक्ष्यताको अकाउन्टको पासवर्ड परिवर्तन गरेपछि झन लगइन गर्ने कुरै भएन ।

उता संयोगले सक्ष्यताको फेसबुक आइडी आफ्नो घर नजिकैको साथीलाई दिएको रहेछ । उनीहरूले मिलेर रातभर गाउँका केटाहरूसँग सक्ष्यताको आइडीबाट अश्लिल कुरा गरेका रहेछन् । भोलि स्कुल पुग्दा गाउँका सबै केटाहरूले उसको अकाउन्टबाट आएको मेसेज देखाएपछि ऊ छाँगाबाट खसेझै भई । त्यति विश्वास गरेर राकेशलाई अकाउन्ट दिएकोमा ऊ पछुताउन थाली । ऊ राम्रै परिवारमा हुर्केको भएकाले त्यति नकारात्मक रूपमा कसैले लिएनन् । सबैले अकाउन्ट ह्याक भयो भन्ने मान्यता लिएकाले अलिकति भए पनि उसको इज्जल जोगियो । तर, तनाबले उसलाई के गरौं कसो गरौं भएको थियो ।

स्कुलबाट घर फर्किने बित्तिकै राकेशको आइडीबाट आफ्नो आइडीमा मेसेज गर्दै उसलाई गाली गर्न थाली । उता राकेशले पनि सक्ष्यताको अकाउन्ट लगइन गर्न नसकेपछि आफ्नो अकाउन्ट खोली हेर्दा आफैले सक्ष्यतालाई मेसेज पठाएको देख्यो । त्यसपछि दुबैले एउटै आइडीबाट एक अर्कासँग कुरा गर्न थाले । सक्ष्यता राकेशसँग आफ्नो आइडीको पासवर्ड मागिरहेकी थिइ । तर, राकेशले आफूले राखेको पासवर्ड नमिलेकाले फर्गेट पासवर्ड गर्न सुझाव दिइहरेको थियो ।

रिसले चुर सक्ष्यता राकेशको कुरा सन्ने पक्ष्यमा थिइन। ऊ जसरी पनि आफ्नो अकाउन्ट फिर्ता ल्याइदेउ भन्दै ढिपी कसिरेकी थिइ । राकेश फर्गेट पासवर्ड गर्दै कुनै मोबाइलमा ओटीपी कोड आएको छ कि भनेर सोधिरहेको थियो । तर, कुनै पनि फोनमा ओटीपी कोड नआएपछि उनीहरूले ममाथि शंका गरे । संयोगले सक्ष्यताको अकाउन्टबाट अश्लिल मेसेज पठाएपछि मैले पुनः सक्ष्यताको पासवर्ड परिवर्तन गरेको थिएँ । त्यसैले त्यो समयमा सक्ष्यताको फेसबुक अकाउन्टको एक्सेस मबाहे अरू कसैसँग थिएन । दुबैले मलाई शंका गर्दै ‘म’ कहिले अनलाइन थिएँ भन्ने कुरा खोतली रहेका थिए । तर, मैले भने तीन दिनदेखि फेसबुक अकाउन्ट नै लगइन गरेको थिएन ।

यसरी फेसबुक पासवर्ड विवादमा परेर सक्ष्यता र राकेशको ब्रेकअप भयो । त्यसपछि सक्ष्यताले नयाँ अकाउन्ट खोलेर मलाई फ्रेन्ड रिक्वेस्ट पठाउने निर्णय गरी र त्यही अनुरूप आफ्नो बहिनीको नाम राखेर अकाउन्ट बनाइ । आफूले केही दिनदेखि फेसबुक प्रयोग नगरेकाले आफ्नो फेसबुकमा भएका गतविधिबारे म अनविज्ञ थिएँ । मैले सक्ष्यताको नयाँ आइडीबाट आएको कुनै पनि मेसेजको रेस्पोन्स नदिएपछि उसले मेरो बाबालाई फोन गरी । हाम्रो पसलमा बाबाको फोन नम्बर प्रस्ट राखिएको थियो । त्यसैले स्कुल जाँदा बाबाको नम्बर नोट गरेकी रहिछ ।

बाबालाई फोन गरेर मलाई अनलाइन आउन भन्दिन आग्रह गरी । बाबाले घरमा ममीलाई फोन गरेर मलाई फेसबुक खोल्न भन्नु भयो । त्यसपछि त अकाउन्ट खोल्दा मेरो होस् हवास नै उड्यो । मलाई सक्ष्यताको नयाँ अकाउन्टबाट कैयौं मेसेज आएका थिए । फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेर उसको रिप्लाई दिएँ ।

सक्ष्यताले नयाँ अकाउन्टबाट बहिनी बोलेको भन्दै मसँग उसको पुरानो फेसबुक आइडीको पासवर्ड मागिरहेकी थिइ । उसले जति गर्दा पनि मैले आफूले पासवर्ड परिवर्तन गरेको कुरा स्वीकार गरेको थिएन । उसले बहिनी बनेर हार गुहार गरी तर मैंले कुनै वास्ता नै गरेको थिएन । अन्तिममा सक्ष्यताले केही जोड नचलेपछि नयाँ अकाउन्ट अकाउन्ट आफैले खोलेको र आफैले मेसेज पठाएको  स्वीकार गरी ।

धेरै नै हार गुहार गरेपछि मैंलले उसको अकाउन्टको पासवर्ड दिएँ । र, आफूलाई कसैले अश्लिल मेसेज पठाएपछि उसको अकाउन्ट ह्याक गरी कब्जामा लिएको भनेर विश्वस्त बनाए । संयोगले सक्ष्यताको अकाउन्टबाट जे जति मेसेज गरेको थियौ, त्यो सबै मैले डिलिट गरिसकेको थिएँ । सक्ष्यतालाई मैले गाह्रो अवस्थामा सहयोग गरेको अनुभूति भयो । उसले मलाई पासवर्ड दिँदै अकाउन्ट डिलिट गर्न अनुरोध गरी । मैले उसले दिएको पासवर्ड प्रयोग गरी अकाउन्ट डिलिट लागेको के थिएँ पासवर्ड नमिलेको संकेत देखियो । मैले पासवर्ड परिवर्तन गरेको हो भनेर सोधें । उसले मलाई दिएको पासवर्ड नयाँ अकाउन्टको भएको र पुरानो अकाउन्टको पासवर्ड मैले जे राखेको थिएँ त्यही भएको सुनाइ ।

यति भएपछि मैले उसको पुरानो अकाउन्ट डिलिटका लागि शेड्युलमा राखेँ । र, मामाको डिभाइसमा उसको नयाँ अकाउन्ट लगइन गरेँ । सक्ष्यताले नयाँ अकाउन्टबाट राकेशलाई सबैभन्दा पहिले नै ब्लक गरेकी रहिछ । धेरै मेसेज नहेरेर पुनः मैले आफ्नै अकाउन्ट गइन गरेर सक्ष्यतालाई पुरानो अकाउन्ट डिलिट गरेको जानकरी दिएँ ।

यति गरेपछि सक्ष्यताले लेखी, “थ्याङ्कु ! आई लभ यू हिक्कु ।”

Back To Top